काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पोखरामा रहेको विवादित जग्गाको विषयमा स्पष्ट पारेका छन् । उनले पोखराको पर्यटन विकासमा टेवा पुर्याउन भन्दै ८/१० वर्ष अघि तीन जना साथीहरु मिलेर जग्गा भाडामा लिएर काम सुरु गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं । सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पु¥याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं ।’
उक्त जग्गा आफ्नो नाममा नभई भाडामा लिएर काम अगाडि बढाएको उनले उल्लेख गरेका छन् । त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइए पनि लालपुर्जा समेत देखाइए अनुसार लगानी गर्दै काम सुरु गरेको उनको भनाइ छ ।
तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि लगानी जोखिममा परेको र यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौं । ठगीमा परे तापनि अरुलाई दुःख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौं । अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौं,’ उनले भनेका छन् ।
त्यस समयमा युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेको उनको भनाइ छ ।