हुलाक सेवामा ‘ब्रेकथ्रू’ : अब एक्सप्रेस वेबाट कुरिअर, बिदाको दिन पनि भन्सार खुल्ने

काठमाडौं । हुलाकमार्फत हुने कुरिअर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने व्यवस्था लागू भएको छ ।

सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरूसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयात–निर्यातका लागि थप सहज बनाएको हो ।

हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो प्रणाली लागू गरिएको हो । 

यस व्यवस्थाबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ । 

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो । 

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरिअरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ । 

सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुने भएको छ । 

यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन । 

अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो । 

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सय भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुक पोस्ट लगायत वस्तु विदेशबाट आएका थिए । त्यस्तै, निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार सात सय हाराहारी छ ।

पछिल्लो समय हुलाकमार्फत हुने कुरिअर सेवाको माग बढ्दै गएको छ र द्रुतमार्ग तथा बिदाको दिन सेवा सञ्चालनले सेवा गुणस्तर, व्यवसाय विस्तार र राजस्व वृद्धि सबैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Share News