नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ ।
यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
एक पुस्तालाई झक्झक्याउने कथा
'दिमाग घोच्ने मान्छे' ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो ।
प्रसारण तथा शुल्क विवरण
नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो (DG) को एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन् । विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छ :
नेपाल : रु. १९९
अमेरिका र अष्ट्रेलिया : $४.९९
बाँकी विश्व : $२.९९
उज्वल थापा फाउन्डेसनका बारेमा
यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।