स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुने भएको छ ।

यस प्रणालीमार्फत भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड स्किम तथा स्मार्टक्यूआरमार्फत डाइनामिक क्यूआर भुक्तानीलाई समेत समर्थन गरिनेछ । एससीटी र सिटी टेकबीचको सहकार्यले बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि आधुनिक, सहज र विस्तारयोग्य पिओएस उपकरण उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

पिओएस अधिग्रहण (एक्वायरिङ) व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यस सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ । छुट्टाछुट्टै कार्ड स्किम सदस्यता लिनुपर्ने, प्रविधिमा ठूलो लगानी गर्नुपर्ने तथा सुरक्षा प्रमाणीकरणको आवश्यकता कम हुने भएकाले यो सेवा आर्थिक रूपमा समेत प्रभावकारी रहने बताइएको छ ।

एससीटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै फिनपोससँगको साझेदारीलाई महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ ।

कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना ‘स्मार्ट स्विच’मार्फत एससीटी–युनियनपे तथा भिसा कार्ड जारी गर्नुका साथै भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड स्किम हो ।

कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी अन्तरबैंक भुक्तानी सेवा तथा स्मार्ट बैंकिङ मोबाइल बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

Share News