केवाईसी नभर्दा सिमकार्ड विक्रेताको कमिसन रोकियो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सिमकार्ड बिक्री-वितरणमा संलग्न खुद्रा विक्रेता तथा बिक्री केन्द्र (प्वाइन्ट अफ सेल्स)हरूको कमिसन भुक्तानी विवरण अद्यावधिक (केवाईसी) नभएका कारण रोकिएको जनाएको छ ।

टेलिकमले बिक्रेताहरूको कमिसन ‘नमस्ते पे’ विद्युतीय भुक्तानी माध्यममार्फत विवरण प्रमाणीकरण भएको एक हप्ताभित्र भुक्तानी गरिने व्यवस्था रहेको छ । तर, केही बिक्रेताहरूले नेपाल डिजिटल भुक्तानी कम्पनी (एनडीपीसी), त्रिपुरेश्वरमा हालसम्म विवरण अद्यावधिक नगरेकाले उनीहरूको कमिसन भुक्तानी हुन नसकेको जनाएको छ ।

टेलिकमले कमिसन नलिएका बिक्रेताहरूलाई १० दिनभित्र एनडीपीसीमा विवरण अद्यावधिक गरी भुक्तानी लिन आग्रह गरेको छ । साथै, समयमै प्रक्रिया पूरा गरी हिसाब मिलाउन सम्बन्धित डिलर तथा सरोकारवालालाई पनि जानकारी गराइएको छ ।

Share News