भौतिक पूर्वाधारमन्त्री लम्सालसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको भेट

निर्माण क्षेत्रका समस्या समाधान गर्न दुई हप्ताभित्र निर्देशिका जारी गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

छलफलका क्रममा मन्त्री लम्सालले निर्माण क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग गरिने बताए ।

‘निर्माण क्षेत्रमा हुने ढिलासुस्ती र अनियमितता रोक्न प्रविधिको प्रयोग अपरिहार्य छ’, उनले भने, ‘हामी यस क्षेत्रलाई भ्रष्टाचार शून्य बनाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।’ 

मध्यपूर्वमा बढ्दै गएको तनावका कारण इन्धन अभाव र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको मन्त्री लम्सालले उल्लेख गरे ।

इन्धन र कच्चा पदार्थको मूल्य बढेकाले निर्माण आयोजनाहरूको लागत बढेको व्यवसायीहरूको गुनासो छ । यो समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आगामी दुई हप्ताभित्र विशेष निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

मन्त्री लम्सालले महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेसहितको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै सरकार र निजी क्षेत्र मिलेर मात्रै भौतिक पूर्वाधारको विकास सम्भव हुने बताए ।

जवाफमा अध्यक्ष पाण्डेले व्यवसायीहरूका समस्या समाधानमा सरकारको तर्फबाट ठोस पहल हुने अपेक्षा राखेका थिए । 

Share News