युवा संघका नेतादेखि ‘किमजोङ बोस’सम्म पक्राउ, प्रहरी भन्छ– ‘कानुनसम्मत’

काठमाडौंमा अझै २ सय होल्डमा

काठमाडौं । ‘युवा संघ सचिवालय सदस्य वकिल बमलाई हिजो राति करिब १० बजे सादा पोशाकका ४–५ जना प्रहरीले केही समयका लागि भन्दै उहाँलाई नियन्त्रणमा लिएको र कालिमाटी प्रहरी वृत्तमा थुनेको छ,’ नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न कुनै झै–झगडा भएको थियो, न कुनै उजुरी वा न कुनै पुरानो केस थियो। ठमेलमा व्यवसाय गरेकै कारण गुन्डागर्दीको आरोप लगाएर  विना कारण र विना प्रमाण नियन्त्रणमा लिनु कानुनी शासनविपरीत र नागरिक स्वतन्त्रतामाथिको प्रहार हो ।’

यस घटनाले राजनीतिक उद्देश्यको संकेत गरेको उनको भनाइ छ ।  यस्ता कार्यशैली तुरुन्त अन्त्य गरी उनलाई अविलम्ब रिहा गर्न बस्नेतले माग गरेका छन् ।

शुक्रबार राति अपराध अनुसन्धान कार्यालयले वकिल बमलाई पक्राउ गरेको थियो । उनी नेकपा एमाले निकट भातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । 

त्यसैगरी, टिकटकर किमजोड बोससहित राजधानीका विभिन्न स्थानबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लियो । अपराध अनुसन्धान कार्यालयका अनुसार रातभर चलाइएको अप्रेसनमा किमजोङ बोससहित अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङसमेत १३ जनालाई पक्राउ गर्यो ।

प्रहरीले भने काठमाडौं लगायत विभिन्न ठाउँबाट पक्राउ गरिएका व्यक्तिलाई कानुनसम्मत नियन्त्रणमा लिएको जनाएको छ । सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत समाजलाई डर, त्रास र धम्की तथा यात्रु तथा सेवाग्राहीलाई दुःख दिने व्यक्तिलाई प्रहरी पक्राउ गरेको हो ।

कानुन बमोजिम देशभरबाट गैरकानुनी गतिविधि गर्ने व्यक्तिलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए ।

उनका अनुसार  उजुरी, गुनासो र जानकारीको आधारमा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको हो । विभिन्न व्यक्तिसँग रकम असुल्ने र धम्क्याउनेलाई पक्राउ गरिएको हो । सेवाग्राहीलाई दुःख सास्ती दिएकाले प्रहरीले गरेको हो । 

‘व्यवसायीलाई धम्काउने र पाखुराको भरमा समाजलाई काबुमा राख्नेलाई कानुन बमोजिम कारबाही हुन्छ,’ प्रवक्ता काफ्लेले भने, ‘शक्तिको आडमा समाजमा त्रास फैलाउनेलाई पक्राउ गरिएको छ । गुण्डागर्दी गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ ।’

काठमाडौं जिल्ला प्रहरी परिसरका पवन कुमार भट्टराईले पक्राउ परेकामध्ये केहीलाई सम्झाएर छोडिएको र केहीलाई म्याद थपका लागिएको उनले बताए ।

‘३३ जनालाई म्याद थपका लागि अदालतमा लगिएको छ,’ प्रवक्ता भट्टराईले भने । उनका अनुसार दैनिक जसो १ सय भन्दा बढीलाई नियन्त्रणमा लिने गरेको उनले बताए ।

काठमाडौंका विभिन्न ठाउँमा अझै २ सय जनालाई होल्डमा राखिएको उनले उल्लेख गरे । केही दिनअघि मात्र प्रहरीको अप्रेसनमा काठमाडौंका विभिन्न ठाउँबाट झण्डै दुई सय जना पक्राउ परेका थिए ।

प्रहरीले देशभरबाट २२६ जनालाई पक्राउ गरिसकेको छ । 

Share News