काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नवीन रिजालबीच प्रतिस्पर्धा भइरहेको छ । विराटनगरमा भइरहेको यस निर्वाचनमा दुवै उम्मेदवार आ-आफ्नो प्यानलसहित मैदानमा उत्रिएका छन् । अध्यक्षतर्फ प्रतिस्पर्धा भइरहे पनि अन्य केही महत्वपूर्ण पदहरुमा भने निर्विरोध नयाँ नेतृत्व चयन भएको छ।
महासंघको निर्वाचन अधिकृत विकास थापाका अनुसार जिल्ला नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्ष्किना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चुनिएका छन् ।
त्यसैगरीएशोसिएट्सतर्फको सदस्यमा देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ पनि निर्विरोध भएका छन् ।
यद्यपि, वस्तुगत सदस्यमा सुवास आचार्य, धनबहादुर काफ्ले र दिपक पाण्डेबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला नगर सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, शेरबहादुर भण्डारी, जयप्रकाश शर्मा, शोभा कोइराला, खड्गबहादुर श्रेष्ठ र नविनकुमार चौधरीबीच मतदान प्रक्रिया जारी छ ।
यसअघि महासंघको आठौ प्रदेश सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका नियन्त्रक र अहम हुने बताए ।
मुलुकको ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले नै सृजना गरेको जानकारी दिँदै उनले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योगको अधिकतम उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।