काठमाडौं । लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन् । आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ ।
पीडित भनिएकी बालिकाको पढाइमा निरन्तरता रहेको र शर्माले संरक्षकको भूमिका पूरा गर्दै आएको मिसिल संलग्न कागजातबाट देखिएको आदेशमा भनिएको छ ।
शर्माले बालिकालाई यातना दिई, दास बनाई राखेकी हुन् भन्ने आरोपित तथ्यबाट पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चियात्मक प्रतितलायक प्रमाण नदेखिएको समेतका आधार, कारणबाट प्रस्तुत मुद्दामा शंकित रेखा कुमारी शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएको भन्दै यसअघि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
तर सोही मुद्दामा बालेन्द्र शाह नेतृत्वको सरकारले पक्राउ गरेर पुनः मुद्दा अगाडि बढाएको हो । अब आइतबार नै शर्मालाई थुनामुक्त गरेर मात्रै थप अनुसन्धान गर्न सक्नेछ ।
आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो ।
डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो । ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो ।
ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन् । उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौं महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो ।
