गरिमा म्युचूअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ ।

प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि गत २०८२ फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो । 

उक्त अवधिमा बीज पूँजीसहित कुल १,०६,७९४ आवेदकहरूबाट ७१ करोड ५७ लाख ८३ हजार २०० रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३२० इकाईका लागि आवेदन प्राप्त भएको थियो, जुन माग गरिएको भन्दा बढी हो ।

प्राप्त आवेदनहरूमध्ये रीतपूर्वक नदेखिएका १७० आवेदकका ४१ हजार इकाईलाई छाडेर बाँकी १,०६,६२४ रीतपूर्वक आवेदकहरूलाई उनीहरूले माग गरे बमोजिम नै ७ करोड १५ लाख ३७ हजार ३२० इकाई बाँडफाँट गरिएको छ । 

नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशनको स्वीकृति प्राप्त भइसकेको र योजनाको विवरणपत्रमा अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने प्रावधान रहेकाले पहिलो चरणमा ५ करोड इकाई आह्वान गरिए पनि रीतपूर्वक आवेदन दिने सबै लगानीकर्ताहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ बमोजिम माग गरेकै संख्यामा इकाई उपलब्ध गराइएको क्यापिटलले जनाएको छ ।

बाँडफाँट कार्यक्रम आइतबार गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, कमलपोखरीमा सम्पन्न भएको थियो । 

बाँडफाँट भएको मितिले तीन महिनापश्चात योजनाको इकाई नियमित खरिदबिक्री तथा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) समेतका लागि खुला गरिनेछ । 

यस निष्काशन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, बैंक तथा वित्तीय संस्थाहरू र लगानीकर्ताहरूप्रति गरिमा क्यापिटलले हार्दिक आभारसमेत प्रकट गरेको छ ।

Share News