काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सेवाग्राहीका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न यो संयन्त्रको सुरुवात गरिएको जानकारी दिएको हो ।
नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले मन्त्रालयको कार्यसम्पादन र नतिजासँग सम्बन्धित आफ्ना गुनासा तथा सरोकारका विषयहरू सिधै दर्ता गराउन सक्नेछन् ।
प्रशासनिक संयन्त्रलाई थप पारदर्शी र जवाफदेही बनाउन चालिएको यो कदमले नागरिकका गुनासाहरूलाई निश्चित समयभित्रै सुनुवाइ गरी सेवा प्रवाहमा देखिएका अवरोधहरू हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयको कार्यसम्पादनमा हुने ढिलासुस्ती, प्रक्रियागत झन्झट र सेवा प्रवाहमा देखिने अन्य अवरोधहरूलाई हटाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
