प्राधिकरणलाई प्रश्न : हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्न लागिएको हो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सलाई बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न लागेको विषयमा बजारमा चर्चा चल्न थालेको छ । त्यो चर्चापछि आइतबार कम्पनीको सेयरमूल्यमा ठूलो गिरावट आयो । आइतबार ७६७ रुपैयाँमा सुरु भएको कारोबार बजार बन्द हुँदा सेयर मूल्य ७०४.७० रुपैयाँ कायम भयो । जुन वर्षकै न्यून विन्दुमा कम्पनीको सेयर मूल्य देखिएको छ । 

कम्पनी समस्याग्रस्त घोषणा हुन लागेको चर्चापछि हामीले यस विषयमा नेपाल बीमा प्राधिकरणसँग जिज्ञासा राख्यौं । प्राधिकरणले भने अहिले हल्ला मात्रै रहेको प्रतिक्रिया दिएको छ । 

प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले भने यस विषयमा अहिलेसम्म प्राधिकरणबाट कुनै निर्णय नभएको बताइन् । प्रवक्ता ढुंगेलले भनिन्, ‘यस विषयमा यो भन्दा अघि बसेको बोर्ड बैठकमा कुनै कुरा उठेको छैन, त्यसपछि बैठक बसको छैन ।’

केही दिनअघि मात्रै प्राधिकरणले हिमालयन रिलाई हिल्टन होटलको पुनर्बीमा प्रकरणमा कानुन विपरीत काम गरेको पाइएपछि कारबाही गरेको थियो । प्राधिकरणले कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार  २ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । 

यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा  यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ । 

कम्पनीका ठूला सेयरधनीहरु सम्पति शुद्धिकरणको अनुसनधानमा तानिएका छन् ।  कम्पनीका सेयरधनीहरु दिपक भट्ट र शाहिल अग्रवाल लगायत ठूला सेयरधनीहरु अनुसन्धानमा तानिएपछि कम्पनीका विषयमा अनेक बहसहरु हुन थालेका छन् । 
दुई ठूला संस्थापक लगानीकर्ता दिपक भट्ट र शाहिल अग्रवाल प्रहरी हिरासतमै पुगेका छन् । कम्पनीका सञ्चालक समिति अध्यक्षबाट शेखर गोल्छाले राजीनामा समेत दिइसकेका छन् ।

के छ समस्याग्रस्त सम्बन्धी व्यवस्था ?

बीमा ऐन २०७९ अनुसार प्राधिकरणले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । यो ऐन पुनर्बीमा कम्पनीको हकमा पनि लागू हुन्छ ।  बीमा ऐन २०७९ को परिच्छेद १३ को दफा १०१ मा सोसम्बन्धी व्यवस्था गरिएको छ । 

बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा समस्याग्रस्त घोषणा गर्न सक्छ ।

जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा  प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न सक्छ । 

त्यस्तै बीमित, शेयरधनी, बीमकका साहू वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक–पटक कार्य गरेमा, बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा समस्याग्रस्त घोषणा गर्न सक्छ ।
त्यसैगरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लड्डन भएमा पनि समस्याग्रस्त घोषणा गर्न सक्छ ।

जसअनुसार बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा, प्राधिकरणबाट भएको नियमन, निरीक्षण, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्कीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा, बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्ने देखिएमा समस्याग्रस्त घोषणा गर्न सक्छ ।

प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्छ । 

समस्याग्रस्त घोषणा गर्नुअघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ । 

यदि बीमकले पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्र्ने कानुनी व्यवस्था छ । बजारमा चलको हल्ला र कम्पनीको वास्तविक अवस्था जानकारी लिनका लागि आइतबार प्राधिकरणको सञ्चालक समिति बैठक बस्दैछ । 
 

Share News