काठमाडौं । स्वदेशी बजारमा अन्डाको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबार (आजै)देखि लागू हुने गरी अन्डाको नयाँ मूल्य तोकेको हो ।
सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँले मूल्य बढेको संघले जनाएको छ ।
नयाँ दरभाउ अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको फार्म मूल्य अब प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन यसअघि ४ सय ६० रुपैयाँ थियो ।
त्यसैगरी, यसअघि प्रतिक्रेट ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो (लार्ज) अन्डाको मूल्य बढेर ४ सय ५० रुपैयाँ पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य अब ४ सय रुपैयाँ तोकिएको छ ।
संघले बजारको अवस्था र उत्पादन लागतलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो ।
साथै संघले जारी गरेको सूचनामा ढुवानी र प्याकेजिङ खर्चबारे पनि स्पष्ट पारेको छ। मुख्य उत्पादन क्षेत्र चितवनबाट देशका अन्य सहरका डिपोहरूमा अन्डा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट खर्चबापत थप १ सय ४५ रुपैयाँ लाग्ने संघले उल्लेख गरेको छ ।