काठमाडौं । प्रधानमन्त्री बालेन सरकारले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट ऋण लिने भएको छ । आइतबार प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने १८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट कार्यान्वयनका लागि एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट प्राप्त हुने कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । यसअन्तर्गत एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर प्राप्त हुने उनको भनाइ छ ।
त्यसैगरी, ‘दीगो र समावेशी वित्त परियोजना’का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकृत गरिएको उनले जानकारी दिए ।