काठमाडौं । सरकारले अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइटहरू बन्द गराएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरी त्यस्ता अवैध प्लेटफर्म र युआरएल (यूआरएल) हरू ब्लक गर्न लगाएको हो ।
यो कारबाही मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णय र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाको चैत १५ गतेको निर्देशनका आधारमा अघि बढाइएको हो ।
मन्त्री तिमिल्सिनाले अवैध साइटहरू २४ घण्टाभित्र बन्द गर्ने नीति अनुरूप तत्काल कदम चाल्न निर्देशन दिएका थिए ।
पछिल्लो एक सातामा मात्र अनलाइन सट्टेबाजीसँग सम्बन्धित ५० भन्दा बढी गुनासाहरू प्राप्त भएको र ती सबैलाई प्राधिकरणले सम्बोधन गरिसकेको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार नेपालमा सट्टेबाजी गर्नु वा गराउनु गैरकानुनी मानिन्छ ।
सट्टेबाजी गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यसका साथै विज्ञापन ऐन, २०६६ ले पनि सट्टेबाजीसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार वा विज्ञापन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।