नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ ।

उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ । 

सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो ।

निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ ।

भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ ।

हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।

Share News