सगरमाथामा ‘डायमक्स’ दुरुपयोगको समाचारप्रति एनएमएको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं । नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा आरोहणका क्रममा ‘डायमक्स’ नामक औषधीको दुरूपयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

औषधीको दुरुपयोग गर्दै पर्वतारोहीलाई समस्यामा पार्ने भन्दै प्रकाशित समाचारप्रति संघले आपत्ति जनाएको हो ।
एनएमएका अनुसार नेपाल दशकौंदेखि विश्वकै अग्रणी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित रहँदै आएको छ र यस्ता अपुष्ट तथा नकारात्मक खबरले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित पार्न सक्ने जोखिम बढेको छ ।

संघले विशेषगरी वसन्तकालीन आरोहण सिजन सुरु भइसकेको अवस्थामा यस्ता समाचारले पर्यटन उद्योगमा निर्भर हजारौं व्यवसायी, गाइड र श्रमिकको जीविकामा असर पार्न सक्ने जनाएको छ । 

‘पर्वतारोहण हाम्रो उद्योग मात्र होइन, राष्ट्रिय गौरव, पहिचान र साहसको प्रतीक हो,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालका पर्वतारोहण कम्पनी र जनशक्ति निकै व्यवसायिक र इमान्दार रहेको भन्दै अफवाह नफैलाउन संघले आग्रह गरेको छ । उक्त विवरणबारे निष्पक्ष छानबिन गर्न संघले सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
‘नेपालको पर्वतारोहण इतिहास निकै समृद्ध र सौम्य छ । पर्वतारोहण एक उद्यम मात्रै नभएर गर्वको प्रतीक हो । यस्ता कपोकल्पित सामाग्रीले नेपालको पर्वतारोहण क्षेत्रको इज्जत धुमिल गराउनुका साथै धेरैको रोजीरोटी गुम्छ,’ संघको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, बीमा दाबी, हेलिकोप्टर उद्धार लगायत सेवामा पारदर्शिता र कडाइ आवश्यक रहेको औंल्याउँदै संघले नियमन प्रणाली सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ ।
 

Share News