कोशी, गण्डकी र कर्णाली वर्षा हुँदै, आज दिउँसो यी प्रदेशमा सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share News