काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता आर्थिक सुधार, प्रशासनिक शुद्धीकरण र आगामी बजेटको तयारीमा तीव्र सक्रियता देखाएका छन् । पदबहालीका क्रममा गरेका नीतिगत निर्णयदेखि कर्मचारी प्रशासनमा मेरिट (योग्यता) को कार्यान्वयनसम्मका कार्यले मन्त्रालयमा नयाँ उत्साह सञ्चार गरेको देखिएको छ ।
गत चैत १३ गते पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वाग्लेले तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत चैत १२ सम्मको यथार्थ ‘आर्थिक स्थितिपत्र’ तत्काल सार्वजनिक गर्ने र निर्वाचनका वाचा पूरा गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने प्राथमिकतामा छन् ।
यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको प्रक्रिया अघि बढाउने र निजी क्षेत्रको सुरक्षा एवं ठूला आयोजना सहजीकरणका लागि कानूनी मार्गचित्र बनाउने निर्णय उनले गरेका छन् ।
कर्मचारी प्रशासनलाई चुस्त बनाउन अर्थमन्त्रीले ३० जना उपसचिवको पदस्थापनमा नयाँ प्रयोग गरेका छन् । राजश्व समूहका ३० जना उपसचिवलाई कुनै राजनीतिक दबाब बिना उनीहरूको योग्यता र कार्यक्षमता (मेरिट) का आधारमा जिम्मेवारी तोकिएको छ । यसलाई अर्थ मन्त्रालयभित्रै सकारात्मक कदमका रूपमा हेरिएको छ ।
एक साताको अवधिमा मन्त्री वाग्लेले मन्त्रालयका ६ वटा महाशाखा, भन्सार र आन्तरिक राजश्वसहित २ विभाग, महालेखा नियन्त्रक कार्यालय र नेपाल बीमा प्राधिकरणको विस्तृत ब्रिफिङ लिएका छन् ।
उनले बजेट कार्यान्वयन, राजश्व सङ्कलनको अवस्था र चुहावट नियन्त्रणका उपायबारे कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले भने, ‘सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजश्व सङ्कलन गर्नुहोस् । चालु आर्थिक वर्षको लक्ष्य मात्र पुरा गरेर पुग्दैन, त्योभन्दा बढी राजश्व सङ्कलन गर्ने गरी काममा जुट्नुहोस् ।’
निजी क्षेत्रका छाता संगठनहरू (महासंघ, परिसंघ र चेम्बर अफ कमर्श) सँगको भेटमा अर्थमन्त्रीले नयाँ सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अघि बढ्ने आश्वासन दिएका छन् । उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी बढाउन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
यसैबीच, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन भइसकेको छ। बजेटकै पूर्वसन्ध्यामा मन्त्री वाग्ले शुक्रबार देशकै ठूलो भन्सार नाका वीरगन्ज पुगेका छन् ।
त्यहाँ उनले भन्सार कार्यालयको अनुगमन गर्नुका साथै आगामी बजेटका लागि राजश्व परामर्शसम्बन्धी अन्तरक्रियामा सहभागिता जनाएका छन् ।
एक साताको अवधिमा तीन दर्जनभन्दा बढी मन्त्रिस्तरीय निर्णय गर्दै डा. वाग्लेले आफ्नो कार्यकालको प्रारम्भिक संकेत नतिजामुखी सुधार रहेको स्पष्ट पारेका छन् ।