लक्ष्यभन्दा बढी राजस्व उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन, ‘बेइमानी गर्नेलाई दण्डित गरिने’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

राजस्व परामर्श सम्बन्धी अन्तरक्रियाका लागि शुक्रबार वीरगन्ज पुगेका अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न र राजस्व वृद्धिका नयाँ सम्भावनाहरू पहिल्याउन आग्रह गरे । 

अन्तरक्रियाका क्रममा मन्त्री वाग्लेले राजस्व संकलनको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख नदिन सचेत गराए । 

उनले भने, ‘राजस्व संकलन गर्ने बहानामा सेवाग्राहीलाई धाकधम्की दिने, त्रासमा पार्ने वा लामो समय लाइनमा राखेर सास्ती दिने काम तुरुन्त बन्द हुनुपर्छ । अनधिकृत क्रियाकलापमा संलग्न हुने जोकोहीलाई पनि छुट दिइने छैन ।’

अर्थमन्त्रीले इमानदारीपूर्वक काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूका लागि सरकारले प्रोत्साहनका कार्यक्रमहरू ल्याउने घोषणा गरे । साथै, कार्यसम्पादनमा बेइमानी गर्ने वा गलत काममा संलग्न हुने कर्मचारीहरूलाई निर्मम भएर दण्डित गरिने चेतावनी समेत दिए ।

Share News