काठमाडौं । टिकटकर तुलसा अधिकारीसँग साठगाँठ रहेको देखिएपछि नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि अनुसन्धानमा तानिएकी छन् ।
नेतृ खतिवडा अधिकारी निकटमात्र नभई दुईबीच आर्थिक कारोबारसमेत भएको देखिन्छ ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले दायर गरेको अभियोगपत्रमा उनको शंकास्पद गतिविधि उल्लेख छ।
नेतृ खतिवडा पूर्वपरराष्ट्रमन्त्री आरजु राणानिकट मानिन्छिन् ।
विभिन्न माध्यमबाट खतिवडाका निम्ति ९ लाख ८७ हजार १०४ रुपैयाँ गएको देखिन्छ । तुलसी अधिकारी हुँदै नेलिका लामिछानेको खातामा र उक्त खाताबाट खतिवडालाई करिब १० लाख रुपैयाँ खर्च गरिएको खुलेको छ ।
ललितपुरको ग्वार्कोस्थित ‘हाम्रो अटोमोबाइल्स प्रालि’ का सञ्चालक कुमार चिमोरियालाई ६ वर्षदेखि ‘हनी ट्र्याप’मा पारी ६ करोड रुपैयाँभन्दा बढी रकम असुल गर्ने संगठित गिरोहका १० जना विरुद्ध मुद्दा अघि बढेको छ।
टिकटकर तुलसा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले अधिकारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरेको हो ।
ललितपुरका एक अटोमोबाइल व्यवसायीलाई हनी ट्र्यापमा पारेर साढे चार करोड रुपैयाँभन्दा बढी रकम असुलेको अभियोगमा १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यस मुद्दाकी प्रतिवादी २८ वर्षीया निलिका (नेलिका) लामिछानेलाई प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ ।
उनीबाहेक अन्य नौ जना (मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी)माथि पनि कारबाहीको माग गरिएको छ ।
अभियोगपत्रअनुसार काभ्रे घर भई ललितपुर बस्ने अटोमोबाइल व्यवसायी कुमार चिमोरिया र प्रतिवादी तुलसी अधिकारीबीच २०७५ सालमा व्यावसायिक सिलसिलामा चिनजान भएको थियो ।
बुटवलमा गाडी खरिद-बिक्रीको बहानामा भेट गरी तुलसीले व्यवसायीलाई भैरहवाको एउटा होटलमा पुर्याएर शारीरिक सम्बन्ध राखेकी थिइन् ।
सोही शारीरिक सम्बन्धलाई हतियार बनाएर तुलसीले ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै ब्ल्याकमेलिङ सुरु गरेकी थिइन् । व्यवसायीले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी हालसम्म ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी र सम्पत्ति बुझाउन बाध्य भएको जाहेरीमा उल्लेख छ ।
प्रहरीको अनुसन्धानले तुलसीको संगठित ठगीको तरिका र घटनाक्रम विस्तृतमा खुलाएको छ । उनले शंकरलाई सातदोबाटोमा ७ लाख ७५ हजार, इमाडोलमा ७ लाख ७५ हजार र गहना पसल खोल्न २५ लाख तिराएको उल्लेख छ । त्यसैगरी पछि पनि पसलको भाडा आफूलाई नै तिर्न लगाएको जाहेरीमा उल्लेख छ र त्यसको प्रमाणसमेत मिसिलसाथ संलग्न राखिएको छ ।
कुमारीपाटीमा तुलला कलेक्सन प्रालिको पसलको सजावट र सात महिनाको भाडा गरी १५ लाख ९० हजार रुपैयाँ तिरेको अभियोगपत्रमा उल्लेख छ ।
अधिकारीले हनी ट्र्यापमा पारी जाहेरवाला शंकर अधिकारी (परिवर्तित नाम) लाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोग पत्रमा उल्लेख छ ।
यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो । सम्पत्ति शुद्धीकरणको बिगो भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।