काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ ।
समितिले तयारी गरेर चैत २४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका ल्याउने एक पदाधिकारीले जानकारी दिए ।
निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठित समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाललाई राख्ने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए ।
तर रसाइलीले भने आफू निर्वाचन समिति संयोजक रहेको भन्ने जानकारी नभएको बताए ।
उनले भने, ‘म आफै निर्वाचन हारेको मान्छेले कसरी निर्वाचितहरूको निर्वाचन गराउनु ?’
संसदीय दलको नेताका लागि समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी रहेको एक नेताले बताए ।
दुवै नेताबीच प्रतिस्पर्धा हुने देखिएको अवस्थामा नेतृत्व चयनलाई लिएर पार्टी भित्र आन्तरिक छलफलसमेत तीव्र बनेको छ ।