काठमाडौं । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबीच विभिन्न समसामयिक विषयमा छलफल सम्पन्न भएको छ ।
शुक्रबार मन्त्रालयमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौती लगायतका विषयहरूमा गहन छलफल भएको हो । स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका वास्तविक समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए ।
यस क्रममा नगरपालिकाका अध्यक्ष भीम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन्। उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानिय सरकार मार्फत प्राथमिकतामा राखेको बताइन्।
त्यसैगरी, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारीहरूलाई खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका थिए ।