अमेरिकी प्रतिवेदन भन्छ–इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्षम

हजारौं एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा

माेज्तबा खामेनेई

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ  ।

प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौं एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् ।

गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्षम रहेको बताइएको छ ।

यसैगरी, इरानसँग ठूलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ । यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छन् ।

इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यसअन्तर्गत सयौंदेखि हजारौंसम्म साना डुंगा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।

गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समयसीमा यथार्थपरक नभएको बताउनुभएको छ।

हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।

Share News