काठमाडौं । चितवनको भरतपुरमा बालबालिकामा बढ्दो क्यान्सर रोगलाई लक्षित गर्दै अत्याधुनिक सेवा सुविधासहितको बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ ।
आरोग्य मल्टी सुपर स्पेसालिटी क्लिनिक नामक उक्त क्लिनिकले विशेषगरी बाल क्यान्सर उपचारमा केन्द्रित सेवा प्रदान गर्ने जनाएको छ ।
क्लिनिकका सञ्चालक कृष्णराज गैरेका अनुसार पछिल्लो समय बालबालिकामा विभिन्न प्रकारका क्यान्सर रोगको जोखिम बढ्दै गएकाले बालकेन्द्रित उपचार सेवा आवश्यक देखिएको हो ।
यो क्लिनिक नेपालमै बाल क्यान्सर उपचारका लागि स्थापना गरिएको पहिलो सुपर स्पेसालिटी केन्द्र रहेको उनले जानकारी दिए । बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरको परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध हुने उनको भनाइ छ ।
विदेश जान लागेका बिरामीहरूलाई नेपाली डाक्टरहरूको सहायतामा विदेशी डाक्टरसँग परामर्श गराउने र रिपोर्ट पठाएर बिरामीको रोगको बारेमा परामर्श लिने काम पनि यहाँ हुने गैरेले जानकारी दिए ।
उनका अनुसार यसले नेपाली बिरामीले विदेश गएर गर्ने खर्च रोक्ने तथा कम गर्नेछ ।
क्लिनिकले स्वदेशमै उपचार सम्भव नभएका जटिल केसका लागि बिरामीलाई विदेश पठाउने प्रक्रियामा पनि सहजीकरण गर्ने जनाएको छ । यसअन्तर्गत भारत, सिंगापुर र थाइल्याण्डका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी बिरामी र उनका आफन्तलाई आवश्यक सहयोग प्रदान गरिने गैरेले जानकारी दिए ।
त्यसैगरी, विदेश जान असमर्थ बिरामीका लागि भने उनीहरूको स्वास्थ्य विवरण हिस्ट्रीका आधारमा विदेशी चिकित्सकसँग प्रत्यक्ष संवाद गराउने सुविधा समेत उपलब्ध गराइने क्लिनिकले जनाएको छ ।
बाल क्यान्सर उपचारलाई सहज, सुलभ र विशेषज्ञ सेवामार्फत प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यस क्लिनिकले देशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको गैरेले बताए ।