इरानसँगको संघर्ष अमेरिकालाई भारी : एक महिनामै अर्बौं डलर स्वाहा, यस्तो छ खर्चको हिसाब

काठमाडौं । इरानसँगको युद्ध अमेरिकाका लागि ठूलो आर्थिक बोझ बनेको छ ।

अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार गत महिना युद्ध सुरु भएको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई अहिलेसम्म यो युद्धमा ११.३ अर्ब डलर खर्च भइसकेको जानकारी दिएको थियो ।

रिपोर्टहरूमा भनिएअनुसार युद्धमा सयौं टमहक मिसाइलहरू प्रयोग गरिएका छन् र प्रत्येक टमहक मिसाइलको मूल्य करिब ३५ लाख डलर (५२ करोड रुपैयाँ) पर्छ ।

युद्ध लम्बिँदै जाँदा अमेरिकाको दैनिक खर्च पनि फरक–फरक हुँदै गएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानको कमजोर हुँदै गएको रक्षा प्रणालीका कारण खर्चमा केही कमी आएको छ । तर विज्ञहरूको अनुमानमा यो संघर्ष अझै पनि दैनिक करिब ३८५ मिलियन डलर (५७ अर्ब २५ करोड) खर्च भइरहेको छ ।

अमेरिकी रक्षा विभागले इरानी ड्रोन र मिसाइल आक्रमणहरूमा करिब ९० प्रतिशतले कमी आएको पनि जनाएको छ ।

इरान र अमेरिकाबीचको तनाव लामो समयदेखि जारी रहँदै आएको छ । इस्लामिक क्रान्तिपछि दुई देशबीच तनाव गहिरिँदै गएको हो । त्यसयता मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउने प्रतिस्पर्धा, आणविक कार्यक्रमलाई लिएर विवाद तथा प्रतिबन्धहरूका कारण सम्बन्ध झन् जटिल बनेका छन् ।

हालको संघर्ष भने क्षेत्रीय अस्थिरता, समुद्री मार्गको सुरक्षा, र सहयोगी देशहरूसँगको सैन्य समन्वयसँग जोडिएको छ । विशेषगरी खाडी क्षेत्रमा भएका आक्रमण, ड्रोन तथा मिसाइल प्रयोग र तेल आपूर्तिमा पर्ने असरले यो युद्धले विश्व अर्थतन्त्र र सुरक्षामा समेत ठूलो प्रभाव पारिरहेको छ ।

इरानसँगको संघर्ष अमेरिकालाई भारी : एक महिनामै अर्बौं डलर स्वाहा, यस्तो छ खर्चको हिसाब
 

Share News