सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा​​​​​​​

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।

धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ-गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए । 

‘यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो । चालु आर्थिक वर्षमा थप करिब ४ किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उनले भने । 

थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पुर्याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा ८८ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

आव २०७९/८० देखि सुरु भएको लुलाङ-गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । 

हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण एक महिनापछि केही दिनअघि सञ्चालन भएको थियो ।

म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले गुर्जासहित म्याग्दीका सबै वडाहरूमा सडक पुगेको बताए । ‘भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक पुर्याउन सफल भएका छौँ । तीनै तहका सरकार र समुदायको सहकार्यमा गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएका हौँ,’ उनले भने । 

गाडी चल्न थालेपछि गुर्जाबाट २ घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, ५ घण्टामा बेनी र ७ घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ । 

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न, पक्की नाला बनाउन चालु आवमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले पालिकामा पठाएको ५० लाख रुपैयाँ बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । एउटै बस्ती एकै वडामा समेटिएको २६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५०५ जना छ । रासस

Share News