७८ गाउँपालिकामा अधिकृत खटाउँदै सामान्य प्रशासनमन्त्री रावले भनिन्- खटाएको ठाउँमै जानुपर्छ

काठमाडौं ।  स्थानीय तहमा देखिएको प्रशासनिक रिक्तता अन्त्य गर्न सरकारले पहल चालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गर्दै कार्यान्वयन सुरु गरेको छ ।

मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत वा सो सरहका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीलाई रिक्त स्थानमा पठाउने निर्णय गरेको हो । यससँगै स्थानीय तहमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

यस अभियानलाई तीव्रता दिने नेतृत्व लिएकी प्रतिभा रावलले मन्त्रालय सम्हालेलगत्तै रिक्त पद पूर्ति गर्ने कामलाई प्राथमिकतामा राखेकी छन् । उनले भनेकी छन्- ‘सरकारले खटाएको स्थानमा जान्न नमान्ने छुट कसैलाई छैन ।’

यसअघि पनि मन्त्रालयले कर्मचारी व्यवस्थापनमा सक्रियता देखाउँदै ६३ जना उपसचिव र ६ जना सहसचिवको सरुवा गरिसकेको छ ।

तर, केही कर्मचारीहरू काठमाडौं बाहिर जान आनाकानी गरेपछि मन्त्री रावलले कडाइ अपनाउँदै मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन् ।
 

Share News