काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रको योगदान सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् ।
महासंघमा आफ्नो कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल समापनको पूर्वसन्ध्यामा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्दै बस्नेतले सरकार र मातहतका निकायसँगको निरन्तर समन्वयका कारण पर्यटन क्षेत्रमा केही सकारात्मक परिणामहरू देखिएको उल्लेख गरे ।
२०८० जेठमा महासंघका अध्यक्ष चन्द्र ढकालबाट समितिको सभापतिमा चयन भएपछि बस्नेतले पर्यटन क्षेत्रका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय र विभागहरूमा पटक–पटक पैरवी गर्दै आएका थिए ।
विशेषगरी होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिलाउने विषयमा बस्नेतले गर्नुभएको पहलले सार्थकता पाएको छ । उनकै सक्रियतामा अघिल्लो सरकारले ऐन संशोधन गरी होटललाई उद्योगको सुविधा दिने निर्णय गरेको थियो, जसलाई उनले अब व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै, हवाई टिकटमा लगाइएको भ्याट पुनरावलोकन र पर्यटन ऐनको संशोधनजस्ता नीतिगत सुधारमा पनि उहाँको कार्यकालमा महत्त्वपूर्ण छलफलहरू भएका छन् ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारले ल्याएका सहुलियत योजनाहरू पर्याप्त नभएको उल्लेख गर्दै बस्नेतले अब नयाँ सरकारले यी विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल बढाउनुपर्ने धारणा राखे।
नेपालको हवाई सुरक्षालाई लिएर युरोपेली युनियन (ईयू) ले राखेको कालोसूचीबाट हटाउन सरकार र नागरिक उड्डयन प्राधिकरणले सार्थक कदम चाल्नुपर्ने बस्नेतको सुझाव छ ।
नेपाललाई युरोपेली देशहरूसँग सिधा हवाई सम्पर्कमा जोड्न र नेपाल पर्यटन बोर्डमार्फत हुने विश्वव्यापी ब्राण्डिङमा निजी क्षेत्रलाई पनि सहभागी गराउन उहाँले निरन्तर आवाज उठाउँदै आएका छन् ।
आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने महासंघका अध्यक्ष चन्द्र ढकाल, पदाधिकारी टिम, उपसभापतिहरू अच्युत शर्मा गुरागाईं र निलहरी बाँस्तोला लगायत समितिका सदस्य र सल्लाहकारहरूलाई उनले धन्यवादसमेत दिएका छन् ।
आगामी दिनमा पनि निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो तर्फबाट निरन्तर प्रयत्न जारी रहने प्रतिबद्धता बस्नेतले व्यक्त गरेका छन् ।