काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफू कुनै पनि राजनीतिक गुटबन्दीमा नफस्ने बताएका छन् ।
सांसद पुनले आफ्नो राजनीतिक यात्रा परम्परागत शैलीको नहुने संकेत दिएका हुन् ।
‘म अचम्मको मान्छे हुँ, म कसैसँग मिल्दिनँ,’ उनले भने, ‘संसदमा मेरो उपस्थिति पक्ष वा विपक्षमा भन्दा पनि सधैं निष्पक्ष आवाजका रूपमा रहनेछ । ’
उनले आफूलाई नेता भन्दा पनि समाजसेवीका रूपमा चिन्न आग्रह गरे ।
लामो समयदेखि प्रविधि र अनुसन्धानमा सक्रिय पुनले आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य शिक्षा क्षेत्रको आमूल परिवर्तन रहेको बताए ।
चुनावमा होमिनुको मुख्य कारण नै शिक्षा सुधार रहेको उल्लेख गर्दै उनले भने, ‘म नेता बन्न आएको होइन, शिक्षामा सुधार गर्न आएको हुँ । मेरो सम्पूर्ण ध्यान र प्रयास देशको शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछ ।’