काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसक्रममा भएको धनजनको क्षतिप्रति अघिल्लो सरकारको आलोचना गरेका छन् ।
बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले शासकहरूको अहंकारका कारण देशले ठूलो मूल्य चुकाउनुपरेको टिप्पणी गरे ।
सांसद शाहीले आन्दोलनको मूल जड सत्तापक्षको घमण्ड भएको दाबी गरे । ‘नेतृत्वको अहङ्कारका कारण देशमा विद्रोह भयो, जसमा सबै संरचनाहरू ध्वस्त भए,’ उनले भने ।
युवा पुस्ताको असन्तुष्टि र उनीहरूको आवाजलाई बेलैमा नसुन्दा स्थिति भयावह बनेको उनको तर्क छ ।
सांसद शाहीले यो घटना सामान्य नभएको भन्दै यसमा संलग्न दोषी र घटनाको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय निष्पक्ष छानबिनको माग गरे ।
उनले भविष्यमा यस्तो रक्तपातपूर्ण र विनाशकारी अवस्था दोहोरिन नदिन सरकारलाई सचेत गराए ।