काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारलाई कानुनसम्मत प्रक्रिया र विधिको शासनको सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
बिहीबारदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले पछिल्लो जेनजी आन्दोलनको प्रसंग उठाउँदै सरकारलाई सोचविचारपूर्वक निर्णय लिन सुझाव दिएका हुन् ।
उनले कानुनी प्रक्रियाको मर्यादा कायम राख्नु नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गरे ।
आङ्देम्बेले कांग्रेसको स्थायी मान्यता दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने रहेको स्पष्ट पार्दै अहिले पनि पार्टी सोही सिद्धान्तमा अडिग रहेको बताए ।
उनले भने, ‘सरकारले सोचबुझपूर्ण ढंगबाट कानुनसम्मत प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गर्नुपर्छ ।’
उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकप्रति लक्षित टिप्पणी गर्दै जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमाथि समेत प्रश्न उठाए ।
आयोगले भदौ २३ गतेका घटनामात्र अनुसन्धान गरेको तर २४ गतेका घटनालाई बेवास्ता गरेको भन्दै उनले निष्पक्षताको विषयमा शंका व्यक्त गरे ।
सांसद आङ्देम्बेले घटनाको समग्र छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन् ।