रास्वपाको जादुमयी विजयमा नेपाली सेना र कार्की सरकारको भूमिका रहेको आरोप

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जितमा विभिन्न यान्त्रिक तथा बाह्य शक्तिहरूको भूमिका रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेना, कर्मचारीतन्त्र, विभिन्न संस्थाहरू र गैरसरकारी संस्थाहरूको निर्णायक भूमिका रहेको दाबी गरे । उनले व्यङ्ग्यात्मक शैलीमा ती संस्था तथा पात्रहरूलाई बधाईसमेत दिए । 

थापाले उक्त विजयलाई जादुमयी भन्दै बाह्य तथा अदृश्य शक्तिहरूले प्रभाव पारेको आरोप लगाए । उनले ‘टीओबी, एआई, एल्गोरिदम’ जस्ता प्रविधिगत तथा प्रचार माध्यमहरूले राष्ट्रियता, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका पक्षधर नेताहरूलाई नकारात्मक रूपमा चित्रित गरेको दाबी गरे ।

उनका अनुसार यस्ता माध्यमहरूले नायकलाई खलनायक र खलनायकलाई नायक बनाउने काम गरेको आरोप लगाउँदै उनले यसले राजनीतिक सन्तुलनमा असर पारेको बताए ।
 

Share News