काठमाडौं । आगामी २०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि यातायातको विकल्प नहुँदा सर्वसाधारणले भोग्नुपरेको महँगो र असुरक्षित यात्राको अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको हो ।
रात्रिकालीन बस बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । महानगरले पूर्वपश्चिम र उत्तर दक्षिण गरी दुई रुटमा रात्री बस सञ्चालन गर्ने भएको हो ।
महानगरका अनुसार उत्तर-दक्षिण रुट अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ १६ किलोमिटरको रहेको छ ।
त्यस्तै, पूर्व-पश्चिम रुट अन्तर्गत थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्री बस सञ्चालन हुनेछ । यो रुटको लम्बाइ दुरी २० किलोमिटर रहेको छ ।
यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी राखिने छ ।
कार्यवाहक प्रमुख डंगोलले बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई असहज भइरहेकाले सुविधाका लागि रात्रि बस सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।
‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,’ उनले भनिन् ।
उनले रातिको समयमा सार्वजनिक सवारी नहुँदा सबैले समस्या भोग्नुपरिरहेको बताइन् ।
‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौं,’ उनले भनिन् ।
सार्वजनिक यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उनले बताइन् । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको उनको भनाइ छ ।