काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकार परिवर्तनको उद्देश्य केवल शासन सञ्चालन नभई प्रणाली रूपान्तरण भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्न भएको बताए ।
लामिछानेले सिंहदरबार बदल्ने प्रक्रिया सुरु भइसकेको दाबी गर्दै सरकारले परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विपक्षी दलका सकारात्मक एजेण्डालाई पनि सरकारले कार्यान्वयन गर्ने उल्लेख गर्दै सहकार्यको राजनीतिमा जोड दिए ।
‘हामी काम गरेर देखाउँछौं,’ उनले भने, ‘राम्रो कुरा जहाँबाट आए पनि स्वीकार गर्छौं ।’
उनले विगतका सरकारका कमजोरीहरूलाई लाजको विषय नभई सिक्ने अवसरका रूपमा लिने बताए । यसले नयाँ सरकार आत्मआलोचनात्मक र सुधारमुखी रहेको सन्देश दिएको छ ।
लामिछानेले आफ्ना निर्णयहरू अहंकाररहित हुने दाबी गर्दै लोकतान्त्रिक मूल्यअनुसार प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिबद्धता समेत जनाए ।