काठमाडौं । मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य दोब्बरले बढाएको छ ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको छ । यो वृद्धिसँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च धान्नका लागि ‘फ्युल चार्ज’ बढाएका छन । वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गरेर ‘फ्युल चार्ज’ बढाएको जानकारी गराएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बुधबारदेखि नै लागू हुनेगरी नयाँ ‘फ्युल सर्चेच’ जारी गरेको छ ।
कहाँ जान कति भाडा ?
इन्धनको मूल्यवृद्धिसँगै काठमाडौं-धनगढी रुटका भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब काठमाडौंबाट धनगढी जान अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ खर्चिनु पर्ने भएको छ । धनगढी रुटको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।
क्यानका अनुसार काठमाडौं-माउन्टेनको अधिकतम भाडा १८ हजार २६ पुगेको छ । काठमाडौं–माउन्टेनको न्यूनतम भाडा ११ हजार ३४२ कायम भएको छ । यसअघि काठमाडौं–माउन्टेनको लागि इन्धनको भाडा ४ हजार ३६० तोकिएको थियो । मूल्य बढेसँगै उक्त रुटको भाडामा इन्धनको मूल्य ८ हजार ६१५ पुगेको छ ।
काठमाडौं–भद्रपुरका न्युनतम भाडा ९ हजार ९८९ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ । उक्त रुटमा इन्धनको मूल्य ३ हजार ७२५ रुपैयाँले वृद्धि भएको छ । यसअघि भद्रपुर रुटको लागि इन्धनको मूल्य ३ हजार ८१५ रुपैयाँ रहेकोमा वृद्धि भएर ७ हजार ५४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौं–विराटनगरको न्यूनतम भाडा ८ हजार ८८ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । काठमाडौं–जनकपुरको न्यूनतम भाडादर ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ ।
काठमाडौं–भरतपुरको न्यूनतम भाडा ३ हजार ८८५ रुपैयाँ र अधिकतम ५ हजार ९७३ रुपैयाँ तोकिएको छ । त्यसैगरी, काठमाडौं–पोखरा रुटको न्यूनतम ५ हजार ५१५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको छ ।
काठमाडौं–भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ पुगेको छ । काठमाडौं–नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ कायम भएको छ । काठमाडौं–तुम्लिङटार न्यूनतम भाडा ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० कायम भएको तोकिएको छ ।
त्यसैगरी, काठमाडौं–सिमरा रुटको न्यूनतम भाडा ३ हजार ३४४ रुपैयाँ र अधिकतम ५ हजार ९८ रुपैयाँ कायम भएको छ । काठमाडौं–राजविराजको भाडा अधिकतम १० हजार ७५० र न्यूनतम ८ हजार ५१२ रुपैयाँ पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रुले तिर्ने हवाई भाडा चार प्रमुख आधारमा निर्धारण हुन्छ ।
‘हाम्रो प्यासेन्जरले तिर्ने हवाई भाडामा चार वटा कुरा सहभागी हुन्छ, लागतदर, फ्युल सर्चार्ज, एयरपोर्ट ट्याक्स र १३ प्रतिशत भ्याट,’ उनले भने ।
उनका अनुसार लागतदर नेपाल सरकारले स्वीकृत गरेको संरचनाअनुसार निर्धारण हुने गर्दछ, जुन २०७३ सालदेखि लागू भए पनि समयमै पुनरावलोकन हुन सकेको छैन । ‘यो प्रत्येक दुई–दुई वर्षमा समीक्षा हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन,’ भुलले बताए ।
हवाई भाडामा सबैभन्दा ठूलो प्रभाव इन्धनको मूल्यले पार्ने उनले स्पष्ट पारे । टोटल म्याक्सिमम फेयरमा करिब ४० प्रतिशत हिस्सा हवाई इन्धनकै हुन्छ ।
नेपाल सरकारको २०७५ सालको व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य जति बढ्छ, सोही आधारमा भाडा समायोजन गर्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार प्राधिकरणले नयाँ भाडादर लागू गरेको भुलको भनाइ छ ।
भुलले अहिलेको अवस्था असामान्य रहेको उल्लेख गर्दै यात्रुलाई केही समयका लागि समायोजन भाडामै कम्प्रोमाइज आग्रह गरे ।
‘यो हवाई भाडा यात्रुका लागि महँगो हो, तर असामान्य परिस्थितिका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘अहिले सबैले केही न केही कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ ।’