नयाँ संसद्को पहिलो बैठक : रवि लामिछानेलाई २५ मिनेट, प्रधानमन्त्री बालेनको मौन उपस्थिति

काठमाडौं । गत फागुन २१ गते सम्पन्न आम निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ । 

निर्वाचनपछिको यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । 

आजको बैठकमा विशेष गरी नयाँ सरकारको कार्यदिशा र जनअपेक्षाका विषयमा नेताहरूले आफ्ना धारणा राख्ने जनाइएको छ ।

बैठकमा नेताहरूका लागि सम्बोधनको समयसमेत निर्धारण भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा बढी समय सम्बोधन गर्नेछन् । 

उनलाई सुरुमा ४० मिनेटको समय उपलब्ध गराइए पनि लामिछानेले २५ मिनेट मात्र प्रयोग गर्ने जानकारी दिएपछि सोहीअनुसार समय व्यवस्थापन गरिएको छ । यस्तै, नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले १० मिनेट र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले ८ मिनेट बोल्ने समय पाएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने अन्य दल र स्वतन्त्र सांसदहरूका लागि पनि समय बाँडफाँट गरिएको छ । जसअनुसार नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले जनही ७–७ मिनेट सम्बोधन गर्नेछन् । उनीहरूलाई निर्धारित ५ मिनेटमा थप २ मिनेट समय उपलब्ध गराइएको हो ।

संसद्को पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहने भए तापनि उनले आज सम्बोधन नगर्ने भएका छन् । 

Share News