काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईबाहेक अरू दलका शीर्ष नेताहरूले निर्वाचन हारेका छन् । आजको बैठकमा सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले अझै संसदीय दलको नेता टुंगो नलगाएका कारण आङ्देम्बेलाई वक्ताको रूपमा अघि सारिएको हो ।
अर्का नेता अर्जुननरसिंह केसी ज्येष्ठ सदस्यका रूपमा बैठक सञ्चालनमा केन्द्रित रहने भएकाले उनी सम्बोधनमा सहभागी नहुने भएका हुन् ।
यसैगरी, नेकपा एमालेबाट रामबहादुर थापा, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्ने तय भएको छ । नेकपाका तर्फबाट संयोजक प्रचण्डले वर्षमान पुनलाई वक्ताका रूपमा अघि बढाउने तयारी गरेको नेकपाका एक नेताले जानकारी दिए ।
म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले समेत पहिलो बैठकमा बोल्ने अवसर पाउनेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा उपस्थित हुने भए पनि आजको बैठकमा सम्बोधन नगर्ने उनको सचिवालयले जनाएको छ ।