काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले संयोजक पदका लागि आह्वान गरेको हो ।
व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा इच्छुक योग्य नेपाली नागरिकले वैशाख ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको, बैंकिङ सम्बन्धी क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
एक वर्ष सेवा अवधि रहेको उक्त पदका लागि १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक तोकिएको छ । यसमा दशैं खर्च बराबरको अतिरिक्त भत्ता र वार्षिक १२ दिन विदा प्रदान गरिने व्यवस्था छ ।