काठमाडौं । कर्मचारी सञ्चय कोषले घरजग्गा धितोमा आधारित विभिन्न सापटी लिएका तर किस्ता नियमित नगरेका सञ्चयकर्तालाई तोकिएको समयभित्र रकम बुझाउन आग्रह गरेको छ ।
कोषको सञ्चयकर्ता कर्जा विभाग लगनखेल तथा विभिन्न शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी (साबिक सरल चक्र कर्जा) र जग्गा खरिद सापटी लिएका ऋणीले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको किस्ता रकम चैत मसान्तभित्र बुझाउनुपर्ने जनाएको छ ।
कोषले नियमित रूपमा त्रैमासिक किस्ता बुझाउने ऋणीलाई ब्याजदरमा ०.२५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर, किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियम, २०७१ अनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
किस्ता भुक्तानीका लागि कनेक्ट आईपीएस, कोषको मोबाइल एप, विभिन्न बैंकका मोबाइल बैंकिङ सेवा तथा कोषको वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । साथै, तोकिएका बैंक खातामार्फत रकम जम्मा गरी भौचर इमेलमार्फत पठाउन पनि सकिने कोषले जनाएको छ ।
कोषले केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई नजिकको कार्यालयमा उपस्थित भई यथाशीघ्र केवाईसी अपडेट गर्न अनुरोध गरेको छ । कर्मचारी सञ्चय कोषले सबै ऋणी सञ्चयकर्तालाई समयमै किस्ता बुझाई थप जरिवाना र कारबाहीबाट बच्न आग्रह गरेको छ ।