सुरेन्द्र पाण्डे भन्छन्- एमाले निजी क्लबजस्तो बन्यो

काठमाडौं । रामबहादुर थापा (बादल) लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र आन्तरिक असन्तुष्टि देखिएको छ । पार्टीका नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत नेतृत्व शैलीमाथि टिप्पणी गरेका छन् ।

पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् । ‘सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद हो,’ उनले लेखेका छन् ।

उनले नेतृत्वप्रति लक्षित गर्दै ‘म नै पार्टी र पार्टी नै म’ भन्ने सोच हावी हुँदा संगठनभित्र सुधारको ढोका बन्द भएको टिप्पणी गरेका छन् । हालको राजनीतिक अवस्था-९ सिटमा सीमित भएको परिणामबाट पनि पार्टी नेतृत्वले पाठ नसिकेको उनको संकेत छ ।

पाण्डेले पुरानो ढर्रा, गुटगत राजनीति र संकुचित सोचले अब पार्टी अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् । ‘एमालेलाई कसैको निजी क्लब होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन आवश्यक छ,’ उनले भनेका छन् ।

Share News