ठेकेदारको घरमा बसेका छन् देउवा, ‘डिल’ नमिलेपछि बेचेनन् घर

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीमा बस्दै आएको घर निर्माण व्यवसायीको रहेको खुलेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण  बुढानीलकण्ठस्थित घरमा आगजनी भएपछि देउवा महाराजगञ्जस्थित चुनदेवीमा एक जना ठेकेदारको घरमा बस्दै आएका छन् ।

महाराजगञ्जस्थित अमेरिकन दूतावास पछाडि चुनदेवीमा रहेको घर निर्माण व्यवसायी विकास गौतमको रहेको पाइएको छ । गौतमले देउवालाई उक्त घर भाडामा बस्न दिएका हुन् ।

गौतम मोतिदान कन्स्ट्रक्सन सेवा कम्पनीका कार्यकारी निर्देशक हुन् । कम्पनीका अध्यक्ष रामबहादुर गौतम विकासका बुबा हुन् भने दाइ बिक्रम गौतम पनि उक्त कम्पनीका प्रबन्ध निर्देशक छन् । 

ती व्यवसायीले देउवाको घर खरिद गर्न खोजे पनि मूल्यमा कुरा नमिल्दा किनबेच हुन नसकेको स्रोतको दाबी छ । उनका अनुसार ठूलै लागतमा घर खरिद गर्न खोजिएको थियो । घरको मूल्यमा सहमति नभएपछि ती व्यवसायीले घरजग्गा खरिद नगरेको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार व्यवसायीले घर खरिद नगरेपछि देउवा आफैले उक्त घरलाई वाल बनाएर राख्ने योजना बनाएका थिए । सोही अनुसार घर भत्काउन लगाइएको थियो । तर, अहिले सरकारले उनको सम्पत्ति छानबिन गरिने भन्दै भत्काउँदै गरेको घर नभत्काउन भनेको छ । 

प्रहरीले घर भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको चर्चा थियो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरेर राखेको थियो । देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरूले बताएका छन् ।

देउवा दम्पत्ति सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वस्थ उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङमा छन् ।  हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ । 

गत भदौ २४ गते प्रदर्शनकारीको कुटपिटमा परेका देउवा र उनकी पत्नी पूर्वपराष्ट्रमन्त्री आरजु राणा देउवा घाइते भएका थिए । सोही दिन देउवाको गर्धन र ढाडमा गहिरो चोट लागेको थियो । 

Share News