काठमाडौं । नेपालको औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड आर्थिक सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको बताए।
किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गरे ।
सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ । देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो ।
गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो ।
बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उत्तिकै अग्रसर रहेको छ ।
टिच फर नेपाल, डिसेबल्ड न्युलाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम(१२ नवलपरासी र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थाहरूसँग दशकौंदेखि सहकार्य गर्दै आएको छ ।