पूर्णबहादुरलाई कारवाही गर्ने कांग्रेसको चेतावनी, असहयोग गर्ने ५०७ नेतालाई स्पष्टीकरण माग

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टीलाई सहयोग गर्ने ५०७ जना नेता/कार्यकर्तालाई कांग्रेसले स्पष्टिकरण सोध्ने भएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लंघन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिको विरुद्ध दिएको उजुरीहरूलाई विभिन्न वर्गीकरणमा राखेर स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका र (ङ)  नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेकालाई गरी ५ भागमा वर्गीकरण गरेको हो । 

छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाइ) माग गर्ने निर्णय गरेको हो ।

यस्तै, विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइने निर्णय पनि गरेको छ ।

अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन  गर्ने निर्णय गरेको छ । ततपश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नगरिने उल्लेख गरेको छ । 

Share News