काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते आइतबार हुने भएको छ । बुधबार (आज) सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ ।
निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ ।
संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार (भोलि) अपरान्ह २ बजे संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।
बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरू सहभागी भएका थिए।
संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ३८ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरू नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन् ।
बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा आज संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो ।
बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।