रुसी सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु

काठमाडौं । रुसको रक्षा मन्त्रालयले क्राइमियामा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीका अनुसार प्राविधिक खराबीका कारण ‘एएन–२६’ विमान पहाडमा ठोक्किएको थियो । 

विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्री सवार रहेका थिए, जसमध्ये कोही पनि जीवित बचेनन् । 

स्थानीय समयअनुसार मंगलबार बेलुका ६ बजे विमानसँगको सम्पर्क टुटेपछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जस क्रममा विमानको भग्नावशेष फेला परेको हो ।

सन् १९६० को दशकको अन्त्यतिरदेखि प्रयोगमा आएका यी एएन-२६ विमानहरू यसअघि पनि धेरै पटक घातक दुर्घटनामा परेका छन् । 

यसअघि सन् २०२० मा युक्रेनको खार्किभमा भएको विमान दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने सन् २०२१ मा रुसको सुदूर पूर्वी क्षेत्रमा भएको अर्को दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

Share News