काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दीपक भट्टसँग सम्बन्धित ठूलो रकमको प्रयोगबारे छानबिन गरिएको छ । विभागले गत फागुन २८ गते नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै भट्टले विभिन्न कम्पनीमार्फत ठूलो परिमाणमा सेयर खरिद गर्दा प्रयोग गरिएको रकमको स्रोत र प्रयोगबारे अनुसन्धान गरी ७ दिनभित्र रायसहितको प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।
विभागका अनुसार भट्टले हिमालयन रिइन्स्योरेन्स कम्पनीको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट करिब २५ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरी विभिन्न मितिमा कुल ३ अर्ब ८१ करोड ४६ लाद रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद गरेको उल्लेख छ ।
उक्त सेयर ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत खरिद गरिएको देखिएको विभागले जनाएको छ ।
विभागले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ ।
