काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
विदेशमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट
साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि चैत १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीले उक्त सेयर चैत १७ गतेका दिन बाँडफाँट गरेको जनाएको छ । रितपूर्वक आवेदन दिने ४२ हजार ९ सय जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।