काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले चन्दननाथ नगरपालिका-३ स्थित चेरेचौर क्षेत्रमा ठूलो शैक्षिक तथा आवासीय भवन निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अनुसार करिब ५८२ रोपनी (२ लाख ९६ हजार ७८ वर्गमिटर) क्षेत्रफलमा फैलिने परियोजना अन्तर्गत करिब १६ हजार ७३९.६९ वर्गमिटर भुइँ क्षेत्रफल ओगट्ने विभिन्न संरचनाहरू निर्माण गरिनेछ ।
प्रस्तावित संरचनामा प्रशासनिक भवन, इन्डोर खेलकुद हल, एनिमल हाउस, आवास गृह, छात्रावास, सङ्ग्रहालय तथा खेल मैदान लगायतका संरचनाहरू समावेश छन् । साथै भवन, पार्किङ स्थल, प्रवेशद्वार तथा बगैँचा निर्माणको योजना पनि रहेको छ ।
हाल चन्दननाथ नगरपालिका-२ को खोलीकोट क्षेत्रमा प्रतिष्ठानअन्तर्गत ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । नयाँ संरचना निर्माणसँगै स्वास्थ्य तथा शैक्षिक सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ ।
यस परियोजनाले स्थानीय प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पार्ने सम्भावित प्रभाव मूल्याङ्कन गर्न आवश्यक भएकाले सरोकारवालाबाट सुझाव संकलन प्रक्रिया सुरु गरिएको हो ।
प्रतिष्ठानले चन्दननाथ नगरपालिका-२ र ३ का स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सम्बन्धित व्यक्ति वा संस्थालाई ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । स्थानीय सहभागितामार्फत वातावरणीय असरलाई न्यून गर्दै दिगो विकास सुनिश्चित गर्ने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।