कालिका भगवतीमा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन, एकै दिन साढे १० लाख रूपैयाँ

काठमाडौं । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्षको भेटी ५ लाख रुपैयाँले कमी आएको हो । गत वर्षको चैते दसैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । 

गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यसवर्ष आएका ७ लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते १ लाख १७ हजार रुपैयाँ, चैत ६ गते १ लाख ५३ हजार रुपैयाँ, चैत ७ गते ४ लाख ३८ हजार रुपैयाँ, चैत ८ गते १ लाख ७० हजार रुपैयाँ, चैत ९ गते १ लाख ७१ हजार रुपैयाँ र चैत १० गते ४ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

यस्तै चैत ११ गते ३ लाख रुपैयाँ, चैते दसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन ४ लाख ८० हजार रुपैयाँ र दशमीको दिन ३ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

‘चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरै भेटी सङ्कलन भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष ५ लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो,’ अध्यक्ष खड्काले भने, ‘अष्टमीमा एकै दिन ४ लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे पर्यो ।’

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट  कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । 

वि.सं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

Share News